प्रहरीको आन्तरिक सुद्धिकरणकालागि ‘प्रोफेसनल स्टाण्डर्ड टिम’

बुटवल, १३ मंसिर । प्रदेश पाँच प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले प्रहरीको आन्तरिक सुद्धिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तरीयता कायम गर्न ‘प्रोफेसनल स्टाण्डर्ड टिम’ गठन गर्ने बताउनु भएको छ ।

उक्त टिमले परेका उजुरीको छानविन गर्ने, गोप्य अनुगमन गर्ने, सार्वजनिक सुनुवाई तथा समुदाय सम्वाद लगायतका कुरामा जोड दिने उहाँले जानकारी गराउनु भयो । प्रदेश पाँच प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेको करिव १ महिनामा बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि उहाँले प्रहरीको आन्तरिक सुद्धिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तरीयता कायम हुन सकेमात्रै शान्ति सुरक्षामा सुधार गर्न सकिने बताउँदै नागरिकको शान्ति सुरक्षाकालागि प्रहरीले सबै प्रकारको सुरक्षा रणनीति अबलम्बन गर्ने बताउनु भएको हो । प्रहरी नायव महानिरीक्षक अधिकारीले यसले प्रहरीको आचरण, व्यबहार, सर्भिस डेलीभरीमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

६ वटा पहाडी जिल्ला र ६ वटा तराईका जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश पाँचमा खुल्ला सिमा शान्ति सुरक्षाको प्रमुख चुनौती रहेको बताउँदै खुल्ला सिमाका कारण हुने अपराध न्यूनिकरणकालागि प्रहरीले सोही अनुसार सुरक्षा अवधारणा बनाएको जानकारी गराउनु भयो । उहाँले अपराध गर्ने व्यक्तिलाई हदैसम्मको कारवाही नहुँदासम्म अपराधका घटनामा कही नहुने बताउँदै अपराध अनुसन्धान र अभियोजनमा कुनै प्रकारको कम्प्रमाईज नगर्न मातहतका प्रहरी कार्यालयलाई आग्रह गर्नुभयो ।

विशेषगरी प्रहरी नागरिकको शान्ति सुरक्षामा केन्द्रित रहने बताउँदै प्रहरी नायव महानिरीक्षक अधिकारीले प्रहरी गस्ती, चेकिङ्, पिकेट तथा ड्युटी, समुदाय–प्रहरी साझेदारी जस्ता आधारभूत कार्यमा केन्द्रित हुने बताउनु भयो । उहाँले प्रहरी परिचालन क्षमता अभिबृद्धि गरिएको जानकारी गराउँदै आकस्मिक घटनामा बोटोको समय बाहेक तराईमा १० मिनेट र पहाडमा ३० मिनेटमा प्रहरी घटनास्थलमा पुग्ने उल्लेख गर्नुभयो ।

सवारी दुर्घटना न्यूनिकरण, लागु औषध नियन्त्रण, लैंगिक हिंसा नियन्त्रणमा विशेष कार्ययोजना सहित प्रहरीले काम गर्ने, ठूला जघन्य संगठित अपराधका घटनामा प्रदेश तहबाट निगरानी र विशेष टोली परिचालन गरि अनुसन्धान गर्ने, संगठित अपराध, गुण्डागर्दी, अवैध हातहतियारको प्रयोग, तस्करी तथा प्राकृतिक स्रोतको दोहन जस्ता कार्यलाई नियन्त्रण गर्न प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने उहाँले बताउनु भयो ।

सम्वन्धित समाचार

Leave a Comment