सातामा करिब २४ अंक घट्यो नेप्से

गत साता नेप्से परिसूचक २३ दशमलव ७८ अंक घटेको छ । पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन नेप्से बढेको थियो । अनलाइन प्रणाली लागू भएपश्चात् लगानीकर्ताहरूले बजार बढ्ने अपेक्षा गरेका थिए । तर, त्यसको विपरीत नेप्से निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू अन्योलमा परेका छन् ।

लगानीकर्ताहरू आफैँले अनलाइन प्रणालीको प्रयोग गर्न नपाएका कारण यस प्रणालीले खासै फरक नपरेको एक लगानीकर्ताले बताए । यसका साथै लाभांश घोषणा भइरहेको समयमा पनि बजार नबढेपछि लगानीकर्ताहरू ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका छन् । गत साताको बजारलाई ब्याजदरले प्रभावित पारेको एक ब्रोकरले बताए । बजारसँग उल्टो सम्बन्ध रहने ब्याजदर बढेपछि बजार ओरालो लागेको उनको भनाइ छ ।

यसका साथै अधिकांश वाणिज्य बैंकहरूले नगद लाभांशमात्र वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताहरू केही निरुत्साहित भएका छन् । यद्यपि, केही कम्पनीले घोषणा गरेको लाभांशले गत साता लगानीकर्तालाई आकर्षित गर्न सफल भएको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३३ दशमलव ६८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

गत साता १ सय ७१ कम्पनीको २० हजार ९ सय २९ पटकको कारोबारमा १ अर्ब ४८ करोड ४९ लाख ४० हजार रुपैयाँबराबरको ४८ लाख १५ हजार २ सय ९२ कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साता १ सय ७२ कम्पनीको १२ हजार ९ सय ८० पटकको कारोबारमा ८२ करोड ५२ लाख ४० हजार रुपैयाँबराबरको ३० लाख २६ हजार ७ सय ६९ कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार २ सय ५ दशमलव शून्य २ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार १ सय ८१ दशमलव २४ बिन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ सय ५६ दशमलव २८ बिन्दुमा बन्द भएको सेन्सेटिभ इन्डेक्स गत साता ५ दशमलव २२ अंक घटेर २ सय ५१ दशमलव शून्य ६ बिन्दुमा पुगेर बन्द भएको छ ।

गत साता कारोबारमा आएको उत्पादनमूलक तथा व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक २८ दशमलव शून्य १ अंक र व्यापार समूहको ८ दशमलव ६६ अंक बढेको छ । जीवन बिमा समूहको परिसूचक गत साता सर्वाधिक १ सय ६ दशमलव ५६ अंक घटेको छ ।

त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक ९२ दशमलव ३६ अंक, जलविद्युत् समूहको ४७ दशमलव ९१ अंक, लघुवित्त समूहको ३१ दशमलव ७ अंक, वाणिज्य बैंक समूहको २५ दशमलव २७ अंक, होटेल समूहको २२ दशमलव ३७ अंक, विकास बैंक समूहको १४ दशमलव ९१ अंक, अन्य समूहको ४ दशमलव ४१ अंक र वित्त समूहको ४ दशमलव २६ अंक घटेको छ ।

गत साता कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । गत साता सो वाणिज्य बैंकको २४ करोड ३५ लाख ४८ हजार ३ सय ५ रुपैयाँबराबरको ८ लाख २९ हजार ८ सय ३५ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा गत साता नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता १ हजार ३ सय १४ पटक सेयर कारोबार भएको छ ।

नयाँ नेपालको अवितरित हकप्रद लिलाम बिक्री
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३ हजार ३ सय ५३ कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ । सो सेयर खरिदका लागि लगानीकर्ताले मंसिर १३ गतेदेखि २० गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । कम्पनीले साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो । बिक्री गरिने सेयरमध्ये ८६ हजार ९३ कित्ता संस्थापक समूहको सेयर रहेको छ भने १७ हजार २ सय ६० कित्ता सर्वसाधारण समूहको सेयर रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

एनएमबिको लाभांश
एनएमबि बैंक लिमिटेडले ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

श्री इन्भेष्टमेन्टको साधारणसभा
श्री इन्भेष्टमेन्ट पुस २ गते रसियन कल्चर सेन्टर, कमलपोखरीमा चौबिसौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १ दशमलव २३ प्रतिशत बोनस सेयर, ८ दशमलव ७७ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ र साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

महिला सहयात्राको नगद लाभांश
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने भएको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो नगद लाभांश वितरण गरिनेछ ।

माछापुच्छ्रेको नगद लाभांश
माछापुच्छ्रे बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो नगद लाभांश वितरण गरिनेछ ।

सम्वन्धित समाचार

Leave a Comment