फेसबुक कि खडकेनी ?

कथाः
-दीपक घिमिरे
अचम्मको छ फेसबुक । उतिबेला खास्सै चलाउन जानिएन, जतिबेला जवानी थियो । जवानीमा अभावले होला, मोबाइलसम्म देख्न पाइएन । जब बुढेसकाल लाग्यो, यो अचम्मको चीज हाता लाग्यो– फेसबुक ।
उ बेला एउटीलाई अति मन पराउँथें । दस पटक लभलेटर लेखेर पठाएँ । सबै फिर्ता । हात चिरेर उसको नाम लेखेर उसलाई पट्याउन खोजें तर अहँ ! सकिनँ । अहिले हेर्नुस् त– जवानी सकियो, सँगसँगै फेसबुक आयो । आज हेल्लो हाई, भोलि कि टाटाबाई कि आई लभ यु जानू !
फलानाको घर बसायो फेसबुकले, फलानाको घर बिगा¥यो फेसबुकले । हामीले सुन्ने तर वास्ता नगर्ने मुख्य समाचार नै फेसबुके दुनियाँका समाचार । फेसबुकबाटै लभ परेर पल्ला घरे काइली पोइल हिडी । फेसबुकमा भाको चक्कर थाहा पाएर सुन्तलीले रनेलाई डिभोर्स हान्दिई ।
यी र यस्तै कथा हुदाहुँदै पनि अस्ति बाले भन्नु भो, ‘दीपक ! यी यसमा फेसबुक हाल्दे त ।’
मेरो मोबाइलबाट फेसबुक एप्लिकेसन ट्रान्सफर गरेर फेसबुक चलाउने बाको ठूलो रहर । म खिस्स हाँस्दै भनें, ‘पर्दैन बा । अब पनि के फेसबुक चलाउनु हुन्छ ।’
बाले खाउलाझैं गरेर भन्नु भो, ‘कमल दाइले फेसबुक चलाएर दुन्याभरका समाचार पढ्नुन्च । म चै यै थोत्रे रेडियोको भर पर्नुपर्ने । खुरुक्क आजै फेसबुक चल्ने बनाइदे ।’
बाको रहरको अगाडि केही सीप चलेन । उ जमानामा तेत्रो पढेका मेरा बालाई फेसबुकको रहर चढ्नु स्वभाविकै हो । बाको लागि फेसबुक तात्तातो समाचारको खानी हो । उहाँ सकारात्मक सोच पालेर फेसबुक चलाउन खोज्नुहुन्छ ।
गाउँमै एउटा भाइ छ । तारा भाइ । नाम तारा हो हामी खुसीले तारा भाइ भन्छौं । उसले फेसबुक केटी पट्याउन चलाउँछ रे । चट्ट मिलेको शरीर अनि हेर्दै सुन्दर केटीलाई साथी बनायो अनि सक्दो कोसिस गरेर पट्यायो । अनि लभ सप । मायापिरती ।
एक दिनको भेटमा उसले एउटी राम्री तरुनीको फोटो फेसबुकमा देखाउँदै भन्यो, ‘यसको लोग्ने कतार बस्छ । अहिले यसैसँग चक्कर चलाउने पक्षमा छु ।’ उ खुशीले गदगद थियो । हल्का म्यासेज पनि देखायो । कति मिठा कुरा । साँच्चै जवानीमा लभ परेका जस्ता मिठा कुरा । उ भन्दै गयो, ‘फेसबुक नभएको भए समय कटाउनै मुस्किल यार । क्या मोज हुन्छ यार च्याट गर्दा ।’
तारा भाइको लागि फेसबुक मोजमस्ती अनि धुम थियो । उ फेसबुकमा आएका समाचार, स्टाटस अनि उपलब्धिमूलक पोस्ट हेर्दैन रे । च्याट ग¥यो, जिस्कियो अनि जिस्कायो बस्यो । दिन सजिलै कटाउन पाउँदा उ आफै मख्ख ।

यस्तै अनेकथरी मान्छे फेसबुकमा जोडिएका छन् । सबैका आ–आफ्नै तरिका छन् फेसबुक चलाउने । मेरा बा समाचारका लागि फेसबुक चलाउँछन् भने तारा भाइ तरुनी पट्याउनका लागि । कोही सकारात्मक पक्ष प्रयोग गर्छन् त कोही नकारात्मक पक्ष । फेसबुकमै झुण्डिनेको जमातमा म पनि एउटा हुँ, जो दैनिक फेसबुकमा घण्टौं बिताउँछु । थाक्दिनँ– बरु भोकै बस्न सक्छु तर फेसबुक चलाएर थाक्दिनँ । अब एकछिन आफ्नै कुरा ।
आफूभन्दा मान्यजन अगाडि नहुँदासम्म म मोबाइलमा फेसबुक खोलेरै बस्छु । दुइटा बुढी औंलाको सहारामा हजारौं पटक मोबाइलको स्क्रीन स्क्रोल गर्छु– केही नयाँ छ कि भन्दै । म जस्तै फेसबुकको किरो छ खेमराज घिमिरे भन्ने । उसले जिस्काउँदै भन्छ, ‘ओए ठुले ! तेरा बुढी औंलाका रेखा मेटिए होलान् मोबाइल चलाउँदा चलाउँदा ।’
म मुसुक्क हाँस्दिन्छु । तर रोकिदैन च्याट अनि स्क्रोल गर्न । कारण केही नयाँ आयो कि भन्ने आशा । उ मेरो दोस्त हो । उ सँग लजाएर मोबाइलमा फेसबुक चलाउन छाड्दिनँ । उ खिज्याइरहन्छ, म चलाइरहन्छु ।
स्क्रोल गर्दै जाँदा एउटी खड्केनीले हेल्लो सर भनिन् । खड्केनीको नाम पछि भनुँला । अहिले नै भने त हाम्रो टुसाउन लागेको माया टुसामै भाँचिन्छ । अनि मैले देखेका सपना तुहिन्छन् ।
उनलाई म इज्जत गर्छु । उनलाई भन्दा पनि उनका बालाई धेरै इज्जत गर्छु । उनकै बाको कारण उनी मेरो साथी बनिन् अनि बाकै कारण उनी मेरो मनमा बसिन् । दिनमा मुस्किलले चार घण्टा अनलाइन बस्ने खड्केनीलाई कुरेर म चौबीसै घण्टा अनलाइन बसिदिन्छु । उनी अनलाइनको हरियो बत्ती बालेर झुल्किदा म हेल्लो भनेर पछि लागिहाल्छु पट्याउन ।
आज उनले पहिला हेल्लो सर भनिन् । म भित्र खुसीको सीमा रहेन । सधैं मैले बोलाउने खड्केनीले आज हेल्लो सर भन्दा मैले हेल्लो डियर पढें । किनकि उनले सर भने पनि मैले डियर भनेको अर्थ लगाएँ । कहिलेकाहीँ म कल्पनामै रमाउने गर्छु ।
फेसबुकका बारेमा फ्वाँसे कुरा पढ्दा बोर लाग्यो ? साँच्ची मैले मेरै कुरा गर्दैछु । बोर मान्नु पर्दैन । म पनि तारा भाइजस्तै फेसबुकलाई समय कटाउने माध्यम ठान्दछु ।
खड्केनीसँग गफिन थालेदेखि म पनि चौबीसै घण्टा अनलाइन बस्दछु भनेर अघि नै भनिसकें । कारण खड्केनी कतिबेला अनलाइन आउँछिन्, कतिबेला अफ हुन्छिन् कुनै पत्तो हुदैन । त्यसैले मछुवारेले खोलामा ख्वाङ्गे थापेर माछा कुरेजस्तै म अनलाइनको हरियो बत्ती बालेर खड्केनीलाई कुरेर बस्छु ।
आज उनैले आफै हेल्लो सर भनेपछि मैले सबै काम एकातिर मिल्काएर उनको पछि लागें । ‘ओ माई गड ! फिलिङ खुसी ।’ मैले रिप्लाई गरें ।
खड्केनी हाँसिन् । एउटा हिन्दी फिल्ममा डाइलग छ, ‘हसी तो फसी ।’
आँखा चिम्म गरेर खड्केनी पट्टिएको कल्पना गरें । जिस्काउन त एक बर्षअघिदेखि नै जिस्काउँथें । तर खड्केनी लाइनमा आइन् कि भन्ने आभास आज भयो । मात्र उनको हेल्लो भनाइमा मात्र पनि म यति फिदा ।
खड्केनीलाई जिस्काउन त्यति सजिलो चैं थिएन । सानो गल्तीले उनको बुवाप्रतिको मेरो आदर माटोमा मिसिन्थ्यो । खड्केनीभन्दा अघि उनका बालाई सोचें । बाकै इज्जतलाई सम्झेर जिस्काउन सकिनँ । सामान्य हेल्लो हाई भयो, जो सधैं आधा घण्टा चल्ने फेसबुक च्याटमा चल्दछ । अबि आज पनि बिदा भैन । बिदा हुदा बाई, जान्छु ल या सि यु सुन भन्ने चलन खड्केनीको छैन । उनको गल्ती । सायद हतारमा अफ हुन्छिन् सधैं ।
खड्केनीसँगको एकतर्फी चक्करले आजभोलि हल्का बदनाम पनि भएको छु । आज बिहानकै कुरा हो– संजोग भाइले आएर भन्यो, ‘दाइ हजुरको मुन्टो ठाडो हुँदैन ? जतिबेला पनि मोबाइलमा घोप्टेको देख्छु ।’
संजोग भाइको जस्तै प्रश्न धेरैको छ । मिनराज भाटले भने, ‘राजा मुन्टो दुख्दैन ? जतिबेला पनि मोबाइलमा हेरेको देख्छु । को सँग हो यसरी च्याटमा ?’
मस्तले छाती खोलेर भन्न मन लाग्छ, ‘खड्केनी अनलाइन आउँछिन् कि भनेर कुरेको ।’ तर सक्दैन । म मेरो एकतर्फी मायापिरती जति सक्यो लुकाउन चाहन्छु ।
अझ एउटा कुरा त भन्नै भुलें । खड्केनीलाई टाढाबाट मात्र देखेको छु । उनले देखेकी छिन् या नाइँ उनैलाई थाहा होला तर म अहिलेसम्म बोलेको छैन । दिनमा आधा घण्टा गफिने हामी भेटौंसम्म भन्न सक्दैनौं । कारण मैले उनलाई एकतर्फी माया गर्छु । उनले त्यो महसुस गरेकै छैनन् । एकदिन राम्रो साइत हेरेर प्रपोज गर्छु । यस्तै कल्पना गर्दै सयौं पटक हेल्लो हाइमा बित्यो तर सामान्य फर्मालिटीबाहेक जिस्काउन सकेको छैन ।
खड्केनीकै लागि फेसबुकमा अनलाइन बस्ने एउटा मस्त दिवाना बनेको छु यतिबेला । बा बगालहरु फेसबुकमा समाचार खोज्छन् भने हामी छोरा बगालहरु फेसबुकमा तरुनी खोज्छौं । अरु भन्न लजाउँछन् । तर म लजाउँदिन । हो, खड्केनीकै लागि आजभोलि अनलाइन बसिन्छ ।
फेसबुकमा आफ्नो हैसियत देखाउने अनेक उपाय छन् । कोही सरकारलाई गाली गरेर प्रतिपक्षमा हिरो बन्न खोज्छन् भने कोही सरकारको समर्थनमा स्टाटस पोष्टेर सरकारको हिरो । देशका लागि सिन्को नभाँच्ने पनि एउटा स्टाटसको भरमा राष्ट्रवादी भइदिन्छन् । दिनभर ‘छप्की’सँग च्याटमा मस्त भएर कपिपेष्टको भरमा स्टाटस लेखेर हिरो बनेकाहरु हाम्रै आँगनमा छन् । आफूलाई त्यतातिर स्वादै छैन । एन्ड्रोइड फोनमा भएको बिउटी क्यामराले फोटो खिच्यो अनि चाउरिएका गालालाई इडिट गरेर पोटिलो बनायो अनि पोष्टियो । लाइनमा भएकालाई त्यै फोटो देखाउँदै लाइन मा¥यो– ‘जिन्दगी ना मिलेगी दुबारा ।’
यी सबै कुरा फेसबुक चलाउने युवाले महसुस गर्नुपर्छ । आफूभन्दा राम्रो आफ्नै फोटो पोष्टेर फेसबुकमा लाइक र कमेन्ट आशा राख्ने म मात्र हैन हामी फेसबुके सबै हौं । हैन भन्नेहरुको अनुहार मेरो सामु ल्याइयोस् हनुमानजी ।
अँ यता फेसबुके कुरा गर्दा गर्दै उता खड्केनीको म्यासेज ट्वाँङ्ग ग¥यो । हेरें, ‘खाजा भयो ?’
अब कस्ले बनाएर दिन्छ र खाजा खानु ? यस्तै भन्न मन थियो तर भनिनँ ।
‘समय भाको छैन, भर्खर खाना खाको । अनि हजुरको भयो ?’ सामान्य उत्तर अनि प्रतिप्रश्न ।
अहिले पनि धेरै कुरा भए । उनी मेरो कथाको फ्यान रे । मख्ख पार्दै भनिन्, ‘दामी कथा लेख्नुहुन्छ ।’
मौकामा चौका हान्न मन लाग्यो, ‘कथा मात्र दामी कि मान्छे पनि ?’ पढेर उनी हाँसिन् ।
एकछिन कथाका कुरा भए । उनलाई मन पर्ने मेरो कथा भनिन् । मैले धन्यवाद भनें । हल्का रोमान्टिक मुडमा थिएँ म । सायद उनी पनि । च्याटले बताउँदै थियो । झ्याप्पो टाइप गर्दिएँ ‘मोटी आई लभ यु !’ सँगै दुइटा लभको सिंग्नल रातो पानपाते पनि पठाइदिएँ ।
म्यासेज सिन भयो, टाइपिङ हुँदै गरेको सिंग्नल आयो अनि उत्तर आयो, ‘हाहाहाहा !’
म जोकर बनें । मेरो कुराले उनलाई हाँसो छुटेछ । झनक्क रिस उठ्यो । ‘म सिरियस छु के खड्केनी मोटी ।’
यो म्यासेज पनि सिन भयो अनि उनले लामै लेखिन्, ‘कुन कथाको लागि हो यो संवाद ? साँच्चै लभ गर्ने त उमेर ढल्कियो । अब छोराछोरीको पालो ।’
उनले मैले लेखेको कुरा कथाको शब्द ठानिन् । उनलाई सम्झाउन धेरै भनें । आई लभ युका पोका अहिलेसम्म फाल्छु तर उनी हाँसेरै टार्छिन् । झनक्क रिस उठेर एकदिन त आइ हेट यु पनि भन्दिएँ । उनी यसमा पनि हाँसिन् । माया गर्छुभन्दा पनि हाँसो, हेलाँ गर्छु भन्दा पनि हाँसो । यो कस्तो माया हो हनुमानजी ?
फेसबुकको दुरुपयोग भयो भनौं भने यो सबैभन्दा गलत होला । सदुपयोग भयो भनौं भने यी मेरो हाल यस्तो छ । बुढेसकालमा चक्कर चलाउँदैछु । सरकार, हामीलाई सुधार ।०

सम्वन्धित समाचार

Leave a Comment