गीत हिट भएपछि बाइक

काठमाडौँ — गीतकार, गायक एवं संगीतकार राजनराज सिवाकोटीका चार गीतले युटयुबमा एक करोडभन्दा बढी भ्युज पाएका छन् । फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु…’ ले ४ करोड ७३ लाख भ्युज पाइसकेको छ । ‘सुर्के थैली खै…’ र ‘पूर्व पश्चिम रेल…’ ले पनि करोड भ्युज नाघिसकेका छन् । पछिल्लो पटक ‘कान्छी’ फिल्मको ‘चरी चट्ट परी…’ पनि करोड कीर्तिमान नाघ्न सफल भएको छ ।

गायक/संगीतकार राजनराज सिवाकोटी उपहार ग्रहण गरेपछि । तस्बिर सौजन्य : सिवाकोटीको फेसबुक पेज

यही सफलताका लागि राजनलाई ‘कान्छी’ फिल्म युनिटले मंगलबार पुरस्कृत गर्‍यो । ‘कान्छी’ फिल्म र श्वेताश्री फाउन्डेसनले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’ मा बाइक उपहार ग्रहण गर्दा राजन उत्पात खुसी देखिए । ‘मैले कल्पनै नगरेको गिफ्ट पाएँ,’ उनले भने, ‘बाइक वा पैसा पाएकोमा भन्दा पनि निर्माताहरूले सर्जकलाई सम्मान गरेकोमा खुसी लागेको छ ।’ उनका अनुसार नेपाली गीतसंगीत क्षेत्रमा यस्तो पुरस्कार नौलो हो । नेपाली फिल्मी क्षेत्रमा गीत किनेपछि सर्जकलाई खासै सम्झिने गरिएको देखिँदैन । गीत चले फिल्मकै प्रमोसन हुन्छ । राजनले यसअघिका गीतबापत् फिल्म टोलीबाट औपचारिक स्याबासी पाएका थिएनन् । यद्यपि, एउटा कामले अर्को काम दिलाइरहे । एकपछि अर्को फिल्मका लागि गीत बनाउन पाए, कन्सर्टको निम्तो थपियो । उनी यसमै चित्त बुझाइरहेका थिए ।
‘मैले मौका पाएँ,’ उनले कान्तिपुरसँग भने, ‘आफूलाई प्रमाणित गर्न सकेँ । अब फिल्म समूहहरूले यसरी प्रोत्साहन गर्न थाले भने संगीत क्षेत्र झन् ऊर्वर हुन्छ । अरू संगीतकर्मीलाई पनि प्रेरणा मिल्छ ।’
फिल्मका गीत सर्जकले निर्मातालाई बेच्छन् । निर्माताले हाइटलाइट्स नेपाल, बुढासुब्बा डिजिटलजस्ता डिजिटल मार्केटिङ कम्पनीलाई फिल्मको सर्वाधिकै दिन्छन् । यसो गरेपछि गीतको भ्युज जतिसुकै भए पनि सर्जकले त्यसबापत् नामबाहेक केही पाउँदैनन् ।
‘मेरा गीतको करोडका करोड भ्युज छ,’ राजनले सुनाए, ‘त्यसैले मान्छेहरू कहाँकहाँ जग्गा किनिस् भनेर सोध्छन् । आफूले कतैबाट केही पाएको होइन ।’ सर्जकबारे सम्बन्धित क्षेत्रले केही न केही पक्कै सोचेको छ भन्नेमा उनी आशावादी छन् । रोयल्टी संकलन समाज, प्रस्तोता समाजजस्ता संगीतकर्मीका संस्थाले पनि पहल गरिरहेको राजनले जानकारी दिए । गत वर्ष आफूले रोयल्टीबापत् एक लाख रुपैयाँ पाएको उनले बताए । ‘अरूलाई दिएर खेर जाँदैन,’ उनले भने, ‘नदिए पनि कति दिन पुग्ला र ? पैसामा कसैको फोटो टाँसिएको छैन । हामी कलाकर्मीले बाँडीचुँडी खानुपर्छ ।’

सम्वन्धित समाचार

Leave a Comment